काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गयो

by समतल अनलाइन

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गए राति घरमाथिबाट खसेको पहिरोले पुरेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा गए राति परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका-४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो । निरबहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको थियो भने ठूलीमायाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको थियो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरोमा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए ।

पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।

 
 
  
 

You may also like