सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव : मेयर शाह

by समतल अनलाइन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।

उनले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन् । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए ।

उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए उनले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन, उत्साह र उमङ्ग,खुशीेसँग जोडिएको बताए। मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताएका छन् ।

उनले भने,‘ महानगरले इन्द्रजात्रालाई काठमाडौं महानगरपालिका भित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ । देशको सौन्र्दय भनेकै मूर्त र अमूर्त सम्पदा हुन् । नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो । नेपालमा भएका सम्पदा संरक्षण गर्नसक्यौं भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौं । नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरु आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन,उत्साह र उमङ्ग,खुसीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको छ । सबैलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्छ ।’

इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन । तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ । जात्रा आवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी शहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ । काठमाडौं उपत्यकामा बुधबारदेखि इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ ।

 
 
  
 

You may also like