देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान पौने १० बजे देउवा र ओलीबीच बालुवाटारमा भेट भएको हो ।

दुई शीर्ष नेताबीच प्रतिनिधिसभामा पेश भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, नागरिकता विधेयक र आगामी निर्वाचनको सम्बन्धमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक मंगलबारको बैठकमा पेश गरेका थिए । उक्त विधेयकका कतिपय प्रावधानमा एमाले, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग मात्र होइन, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू पनि असन्तुष्ट बनेका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को प्रतिनिधि सभामा बुँदागत छलफल नगरी हुबहु पारित गरेपछि एमालेले विरोध गरेको छ । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरेको छ । देउवा सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी कतिपय निणर्यहरु एकलौटी ढंगले गरेको भन्दै एमालेका नेताहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

 
 
  
 

You may also like