दिउँसोदेखि वर्षाको सम्भावना, तीन दिन ठूलो पानी नपर्ने

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न भागमा आज (बुधबार) पनि मौसम बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वाग्मती, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् । बिहान काठमाडौंका केही स्थानमा छिटपुट वर्षा भए पनि दिउँसो र अपराह्न भने हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । प्रदेश-१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको छैन । ‘आज, भोलि र पर्सीसम्म देशभर भारी वर्षाको समभावना देखिँदैन’, मौसमविद् नगरकोटीले भनिन् ।

 
 
  
 

You may also like