लागुऔषध कारोबारको आरोपमा इन्जिनियरसहित दुई जना पक्राउ

by समतल अनलाइन

काठमाडौं । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सिभिल इन्जिनियर र एक जना बालक अपहरण र ज्यान मुद्दामा जेल बसेर छुटेका युवक छन् ।

ललितपुर घर भएका ३८ वर्षका नविन श्रेष्ठ र सुनसरी घर भएका ४३ वर्षका ध्रुव लिम्बुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले जानकारी दिए । आरोपीहरुको साथबाट प्रहरीले २,८१० एम्पुल लागुऔषध बरामद गरेको छ ।

काठमाडौंको कालो पुलबाट पक्राउ गरिएका ध्रुव लिम्बु सिभिल इन्जिनियर हुन् । भदौ ३ मा पक्राउ गरिएका लिम्बुको साथबाट प्रहरीले ५६० एम्पुल बुप्रेनोर्फिन, ५८४ एम्पुल फेनारगन र ७३७ एम्पुल डाइजेपाम बरामद गरेको छ । भदौ २ मा झम्सी खेलबाट पक्राउ गरिएका नवीनको साथबाट प्रहरीले २४३ एम्पुल बुप्रेनोफ्रिन, २४३ एम्पुल फेनारगन र २४३ एम्पुल डाइजेपाम बरामद गरेको छ ।

नविन श्रेष्ठ २०६४ असोजबाट ८ वर्ष जेल बसेर निस्केका हुन् । नाबालक धीरज अधिकारीलाई उनीसहितले अपहरण गरेर हत्यापछि बागमतीमा फालेका थिए । आरोपीहरुले भारतको रक्सौलबाट मोटरसाइकलको ट्याङ्कीमा लुकाएर लागुऔषध काठमाडौं ल्याएको ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

 
 
  
 

You may also like