रुपन्देही कोभिड – १९ विरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा

by समतल अनलाइन

भैरहवा ।रुपन्देही जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्धको पहिलो श्रृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खाँणले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा सञ्चारकर्मी लगायत सरकारी तथा गैरसरकारी संघ–सस्थाको सहयोगले जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न पाइएको बताए । उनले महिला स्वास्थ्य स्वंयसेविकाको योगदानको प्रशंसा गरे । कोभिडका कारण पर्यटन लगायत विभिन्न क्षेत्र प्रभावित भएको उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले नागरिक, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको एकीकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड–१९ रोग विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको बताए । उनले सबै एकजुट भए जस्तोसुकै संकटबाट जुध्न सकिने सन्देश दिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य सचिव दीपक काफ्ले, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, विश्व स्वास्थ्य संगठनकी डा. श्रृति नेपाल लगायतले बोल्दै सबैको प्रयासले रुपन्देहीलाई जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गर्न सफल भएको बताए ।

रुपन्देहीमा १० लाख ८७ हजार ४ सय ६४ जनसंख्या रहेकोमा त्यसमा १२ वर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेको भए पनि जिल्लामा लक्ष्य भन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिडविरुद्धको दुई डोज खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए । उनले रुपन्देही जिल्लाको कोभिड–१९ विरुद्धको खोपको पहिलो र दोस्रो मात्राको प्रगति देवदह, बुटवल, सैनामैना, कञ्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको बताए ।

पूर्ण खोप घोषणा गर्नु भन्दा अघि घर घर गइ डाटा संकलन गरी कुनै पनि १२ वर्ष माथिका नागरिक खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएकोले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनको भनाइ थियो । समग्रमा जिल्लाको खोप प्रगति १०२ प्रतिशत रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

कार्यक्रममा रुपन्देहीका स्थानीय तह, स्वास्थ्य शाखा तथा विभिन्न संघ–संस्थालाई सम्मान समेत गरिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षता तथा पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like