जापान रोजगारी : काठमाडौंमा आज संयुक्त कार्य समिति बैठक बस्दै

काठमाडौँ । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज (बिहीबार) संयुक्त कार्य समितिको बैठक बस्दै छ ।

काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उनले बताए ।

संयुक्त कार्य समितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षत्रे र रेस्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेसागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ । रासस

 
 
  
 

You may also like