बुटवलको सडक नबनाउने ठेकेदारलाई चित्तबुझ्दो स्पस्टिकरण दिन सात दिने अल्टिमेटम

बुटवल । बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग सडक विभाग बुटवलले स्पष्टीकरण सोधेको छ ।

कन्चनजंघा /बिरुवा जेभीले ठेक्कपा पाएको यो सडक दुई पटक म्याद थप्दा पनि पूरा भएको छैन । ब्यापारिक मार्ग विस्तार आयोजनाले एक हप्ताभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण नदिएमा ठेकेदारलाई कानूनी कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको छ । ‘वाह्य कारण विनै काममा प्रगति नगरेको र संशोधित कार्यतालिका पेश गर्न पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सार्वजनि खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त वमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने’–सूचनामा उल्लेख छ ।

निर्माण पूरा नगरेको विषयमा सात दिन भित्र आधिकारिक व्यक्तिहरु उपस्थित भई स्पष्टिकरण दिन निर्देशन गरेको आयोजना प्रमुख दीपक झाले बताए । कांग्रेस निकट व्यवसायी सुबित श्रेष्ठको निर्माण कम्पनी कन्चनजंघा /बिरुवा जेभीको चरम लापरवाहीका कारण निर्धारित समयमा निर्माण पुरा नभएको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले समेत सडक विभागमा डेलिगेसन गएर निर्माण व्यवसायीको म्याद नथप्न आग्रह गरेका थिए ।

सडक निर्माण पूरा नहुंदा बुटवलको मुख्य बजार क्षेत्रको सडक पोखरी जत्रा खाल्डैखाल्डाले दुर्दशा भएको छ । साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । तर अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ ।

असार मसान्तसम्म करिब २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले बताए । शुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयामा ठेक्का सम्झौता भएकामा संशोधित हुदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयामा सम्झौता भएको हो । नागरिक समाजले पनि उक्त कम्पनीको ठेक्का रद्द गरी कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।
ठेकेदार कम्पनीले करिब १४ करोड रुपैयां भुक्तानी लगिसकेको छ ।

 
 
  
 

You may also like