बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज (शुक्रबार) बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।

उनले भने, ‘मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।’

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

 
 
  
 

You may also like