५६ औ रक्त संचार दिवसमा सम्मान

बुटवल,नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले ५६ औ रक्त संचार दिवसको अवसरमा रक्तदानमा सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले यो वर्ष ३ हजार ३ सय ४१ पुरुष र ४ सय ५३ महिला सहित कुल ३ हजार ७ सय ९४ युनिट रक्तदान गरेकोमा सर्वाेत्कृष्ट संस्थाको रुपमा सम्मानपत्रबाट सम्मान गरिएको छ । यो सहित जिल्लाका एक सय युनिटभन्दा माथि रक्तदान गर्ने ३६ संस्थाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश स्वस्थ्यमन्त्री माननीय ईन्द्रजित थारुले उद्घाटन गर्दै निशुल्क रगतको अभियानलाई सरकारको साथ रहेको बताए । जनतालाई सहज बनाउने सोचका साथ सरकार अघि बढेको उनले बताए । यो वर्ष सामुदायिक अस्पताल र डायलोसिस सेन्टरसम्म निशुल्क गराउने सोच रहेको उनले बताए । शुल्कको कुरा गर्दा ९ सय रुपैयाभन्दा बढि नबढ्ने गरि भनी कार्यविधि बनाईएको उनले दाबी गरे । रगत अभावबाट बिरामीको मृत्यु हुने अवस्था रोक्न रक्तदानको अभियान पुण्य काम भएको बताए । ब्यक्तिको खानपिन आहारको सहि ब्यवस्थापन नहुदा नयानया रोगहरु आएको भन्दै नागरिकहरु आफै सचेत हुनुपर्ने उनले सुझाव दिए । रोग लागेपछि उपचारभन्दा पनि लाग्न नदिने गरि सचेत हुनुपर्ने उनले सुझाव दिए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले निशुल्क रक्त वितरणमा समुदायका स्वयंसेवी संघसंस्थाहरु लागेको बताए । सरकारबाट बनाईएको निशुल्क रक्तदानको कार्यविधिलाई केही परिमार्जित गर्न जरुरी रहेको उनले बताए । सबैभन्दा बढि रगत संकलन र वितरण गर्ने काममा बुटवलको रक्त संचार केन्द्रको अहम भुमिका रहेको उनले दाबी गरे । लुम्बिनी प्रादेशिक अस्पताल, सियारी गाउपालिका, भिम अस्पतालसंग निशुल्क रक्तदानको सम्झौता भैसकेको उनले बताए । विजयनगर गाउपालिकासहित धेरै स्थानिय तह सक्रियता जनाउदा यो अभियान सफल हुनेमा आशाबादी रहेको उनले बताए । कतिपय अवस्थाका रगतको माग गर्दा उपभोग नभएर खेर जाने गरेको भन्दै उनले यो वर्ष २ सय ३९ युनिट रगत उपयोग हुन नमिल्ने भएको बताए ।

कार्यक्रममा सोसाइटीका मन्त्री आर मोहमद खा, उपसभापती दिपक क्षेत्री न्यौपाने, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले शुभकामना दिएका थिए ।

 
 
  
 

You may also like