मुस्कानको प्रधानमन्त्रीलाई पत्र- हजुरको ठाउँमा म भएको भए तेजाव आक्रमण गर्नेलाई फाँसी दिन्थें

by समतल अनलाइन

काठमाडौं। एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन्।

खातुनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय दिन माग गरेकी छिन्। यसअघि एसिड आक्रमणमा परेका जेनी खड्का र संगिता मगरको सम्झना गर्दै उनले उनीहरुलाई आक्रमण गर्नेलाई कडा सजाय नहुदाँ अहिले आफू कीर्तिपुर अस्पतालमा हुनुपरेको भन्दै गुनासो गरेकी छिन्।

उनले प्रधानमन्त्रीसँग आग्रह गर्दै आफ्नो पिडा बुझिदिन आग्रह गर्दै अबका दिनमा आफूजस्तै कोही पनि छोरी अस्पतालमा आउन नपरोस् भन्ने कामना गरेकी छिन्। दुई पृष्ठ लामो पत्र उनले नमस्कारबाट सुरु गरेर धन्यवादमा अन्त्य गरेकी छन्।


उनले हालको सरकार दुई तिहाइको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको स्थानमा आफू भएको भए एसिड आक्रमणकारीलाई फाँसीको सजाय दिने उल्लेख गरेकी छिन्। ‘हजुरको ठउँमा म भएको भए त्यो अपराधीलाई फाँसीको सजाय दिन्थें होला। यसपाली उसले ठूलो भन्दा ठूलो सजय पाओस् कि मजस्तो एउटा बालिकामाथि या चेलीबेटी वा कसैमाथि पनि तेजाव आक्रमण नहोस्,’ पत्रमा भनिएको छ।

गत भदौ २० मा वीरगन्ज-३ छपकैया निवासी मुस्कान खातुनमाथि वीरगन्जकै गणेशमान चोक नजिक एसिड प्रहार भएको थियो। मुस्कानमाथि एसिड प्रहार गरेका अभियुक्त जिल्ला अदालत पर्साको आदेशले बालसुधार गृहमा छन्।

मुस्कानमाथि एसिड प्रहार गरेका वीरगन्जकै मजिद मियाँ र शमशाद मियाँलाई प्रहरीले पक्राउ गरेको थियो। मजिदले राखेको प्रेम प्रस्ताव मुस्कानले अस्विकार गरेपछि शमशादको सहयोगमा खातनुमाथि एसिड प्रहार भएको थियो। विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार भएको थियो।

जिल्ला प्रहरी कार्यालय, पर्साले संकलन गरेको प्रमाण र नारायणी अस्पतालले पठाएको मेडिकल रिपोर्ट बीचमा दुवै अभियुक्तको उमेरमा अन्तर देखिएको थियो। मजिदको हकमा १९ वर्ष र शमशादको हकमा १८ वर्ष तोकेर प्रहरीले अभियोगपत्र दायर गरे पनि नारायणी अस्पतालले शमशादको उमेर १६ देखि १८ वर्ष र मजिदको १८ देखि २० वर्ष हुनसक्ने बताएको थियो।

जन्मदर्तामा भने मजिद २०६२ बैसाख १ गते र शमशाद २०६४ सालमा जन्मिएको उल्लेख छ।

बलिउड तथा नेपालका कलाकार तथा खेलाडीहरुले मुस्कानको स्वास्थ्यलाभको कामना तथा हौसला दिँदै आएका छन्।

यस्तो मुस्कानको पत्रः

 
 
  
 

You may also like