पूर्वी क्षेत्रमा भारी वर्षा, होशियारी अपनाउन आग्रह

काठमाडौँ । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् ।

पछिल्लो ३/४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । यी क्षेत्रमा थप ठूलो पानी पर्न सक्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ ।

डुबान भइरहने होचा ठाउँ र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, लुम्बिनी, मधेस प्रदेश र प्रदेश-१ मा वर्षा भइरहेको हो । आज राति पनि पानी पर्ने अनुमान गरिएको छ ।

 
 
  
 

You may also like