दाङमा ज्वरोका बिरामी बढे, विद्यालय बन्द

दाङ। दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निणर्य गरिएको छ ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर-४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।

‘दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्’, उनले भने । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने जस्ता समस्या देखिन थालेको उहाँले बताउनुभयो । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार-पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । ‘उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्’, उनले भने । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उनले बताए ।

 
 
  
 

You may also like