संघीय सरकार मातहतका कार्यालयमा बुटवल उपमहानगरका जनप्रतिनिधिको डेलिगेशन

बुटवल । बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका छन् ।

बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा मंगलबार डेलिगेशन गएको हो ।

बुटवल उपमहानगरपालिकाले गत जेठ १० मा कार्यालय प्रमुखहरुसँगको बैठकमा बुटवलको सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्ने सहमति भएपनि प्रभावकारी काम नभएको भन्द्र नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिको टोली कार्यालयहरुमा डेलिगेशन गएको थियो ।

बुटवल बेलहिया सडक विस्तार आयोजनाको कार्यालयमा पुगेर नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न र ठेक्काको म्याद थप नगर्न आग्रह गरे ।
‘काममा आलटाल गर्ने र गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सचेत गराउँछौं, उनले भने–बुटवलको बाटो बनाउनका लागि उपमहानगरपालिकाको के सहयोग चाहिन्छ, त्यो दिन हामी तयार छौं भनिरहेकै छौं, जे जसरी हुन्छ, बुटवलको सडक निर्माणको काम छिटै सम्पन्न गर्नुपर्छ ।’

उनले वर्षाअघि नै बुटवलका खाल्डा पुरेर जोखिम कम गर्नका लागि चासो दिन आयोजनालाई आग्रह गरे ।
आयोजनाकी निमित्त कार्यालय प्रमुख सविता ज्ञवालीले निर्माण कम्पनीको दैनिक कार्यप्रगतिको अपडेट लिइरहेको र आवश्यकताअनुसार कारबाही अघि बढाउने बताइन् ।

यस्तै, डिभिजन सडक कार्यालय बुटवलमा डेलिगेशनका लागि पुगेको नगरप्रमुखसहितको टोलीले तल्लो सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माणको काम रोकिएकोमा कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

नगरप्रमुख पाण्डेयले सिद्धबाबादेखि खानेपानी कार्यालयसम्मको सडक निर्माण र डिभिजन कार्यालयमातहतका अरु सडकको मर्मतमा चासो दिन कार्यालय प्रमुख जयलाल मरासिनीलाई आग्रह गरे ।
कार्यालय प्रमुख मरासिनीले सडक निर्माणको काम केही दिनमा शुरु नगरे कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही टोलीले मंगलबार नै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका कार्यालय प्रमुखलाई भेटेर बुटवलमा अनियमित विद्युत कटौती, लो भोल्टेज, अव्यवस्थित तारलगायत बुटवलबासीका समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

नगरप्रमुख खेलराज पाण्डेले बुटवलमा भइरहेको अनियमित विद्युत कटौती, लो भोल्टेजका कारण बुटवलबासीले भोग्नुपरेको समस्या र अव्यवस्थित तार व्यवस्थापन गर्न आग्रह गरे ।

उनले बुटवलको मुुख्य र सहायक सडक विस्तारका क्रममा विद्युत प्राधिकरणले सहयोग नगरेको गुनासो आएको भन्दै सरकारी कार्यालयहरुबीच समन्वय गरेर काम गर्न आग्रह गरे ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा रहेको कार्यालयले बुुटवलका समस्या समाधानमा तत्परता देखाउनुपर्ने बताइन् ।
विद्युत प्राधिकरण कार्यालय बुटवल वितरण केन्द्रका निमित्त प्रमुख किरण खनालले नगरभित्रका समस्या समाधानमा कार्यालयले चासो राखेको र समस्या समाधानमा तदारुकता देखाउने बताए ।
उनले सरकारी कार्यालयबीच समन्वय अभाव भएकाले आगामी दिनमा समन्वय र सहकार्य गर्ने बताएका थिए ।
यस्तैगरी, बुटवल उपमहानगरको टोलीले खानेपानी संस्थान बुटवल कार्यालयमा पुगेर बुटवलको खानेपानी समस्या र सडक विस्तारमा भइरहेको लापरबाहीबारे कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबासीलाई शुद्ध पानी वितरणका लागि गम्भीर ढंगले लाग्न र आवश्यक खानेपानी आपूर्ति गर्न आग्रह गरे ।

उनले बुटवलमा देखिएको खानेपानी समस्या समाधानमा बुटवल उपमहानगरले खानेपानी संस्थानलाई साथ दिने बताउँदै समन्वय गरेर अघि बढ्न आग्रह गरे ।
उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष र सदस्यहरुले खानेपानी वितरणमा देखिएको समस्या, शुद्धता र खानेपानी धारा विस्तार लगायतका समस्याबारे कार्यालय प्रमुख मोहनदत्त भट्टको ध्यानाकर्षण गराएका थिए ।
कार्यालय प्रमुख भट्टले बुटवलबासीलाई शुद्ध खानेपानी वितरणका लागि पर्याप्त श्रोत साधन नरहेको बताएका थिए ।

उनले बुटवल उपमहानगर र बुटवलस्थित सरकारी कार्यालयहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

 
 
  
 

You may also like