रुपन्देहीको सियारीमा पशु हाटबजार सन्चालन , किसानहरु उत्साहित

 बुटवल  । रुपन्देहीको सियारी गाउँपालिकामा पशु हाटबजार सञ्चालनमा ल्याईएको छ । भैसी, गाई, बाख्रा लगाएतका पशुहरुको एकै स्थानबाट खरिद तथा बिक्रि गर्ने उद्धेश्यले सियारी गाउँपालिका २ कोटहिथानमा पशु हाटबजार सञ्चालनमा ल्याईएको हो ।

यो हाटबजार लुम्बिनी प्रदेशमा दोश्रो व्यवस्थीत पशु हाटबजार हो । बर्दियामा पनि बिश्व बैकको लगानीमा पशु हाटबजार सञ्चालनमा छ । बिश्व बैंकको लगानी तथा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाको सहयोगमा पशु हाटबजार सञ्चालनमा आएपछि किसान तथा व्यवसायिहरु उत्साहि भएका छन् । किसानहरुले पशु हाटबजार सञ्चालनमा आएपछि गाउँगाउँमा गएर पशु चौपाया खोज्नु पर्ने बाध्यता हटेको बताए
झण्डै साढे ५ करोड रुपैयाको लागतमा सञ्चालनमा ल्याईएको हाट बजारमा पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुबिधा प्रदान गर्नका लागि आबश्यक संरचना समेत निर्माण गरिएको छ ।

तीन बिघा क्षेत्रफलमा बनेको हाटबजारमा किसानलाई बास बस्न, पशुको रगत, गोवर जाँच गर्ने प्रयोगशाला तथा डिफेन्सरी, बजार व्यवस्थापपक तथा सञ्चालक बस्नका लागि २ तले किसान भवन समेत बनाईएको छ ।

हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजांच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र विक्रि गर्न पाइने छ ।
पशु चरणका लागि खाली जग्गा तथा पशुलाई बास बसाल्नु परेमा टहराको पनि व्यवस्था गरिएको छ ।

विक्रियोग्य पशुको रमानापत्रका लागि हाललाई तीन सय रुपैयां शुल्क तोकिएको सियारी गाउंपालिकाका पशु चिकित्सक डा. सुवास बेल्बासेले बताए । पशु हाटबजार प्रत्यक आइतबार खुल्ला हुने छ ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले संघीय सरकारको नश्ल सुधारको करोडौं वजेट बालुवामा पानी सरह भएको भन्दै वास्तविक किसान लाभान्वित हुने गरी नश्ल सुधार कार्यक्रम ल्याउन माग गरे । नेपालमा गाई भैसी आयात भारतबाट गर्नुपर्ने भएकाले प्रहरी प्रशासनले सीमा नाकामा सहज गरिदिनुपर्ने माग समेत उनको छ ।

 
 
  
 

You may also like