धौलागिरी सहकारीको स्थापना दिवशमा भवन उद्घाटन र सम्मान कार्यक्रम

मिना ढकाल
बुटवल। बुटवलकै पुरानो मध्ये एक सहकारी धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवशका अवसरमा भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाभर १५ सय भन्दा बढि सदस्यहरु रहेको सो सहकारीको बुटवल ८ सुख्खानगरमा रहेको भवन उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष एवं तिलोत्तमा नगरपालीका प्रमुख रामकृष्ण खाणले सहकारी मार्फत समृद्धि सम्भव रहेको बताए ।

सहकारीको उचित ब्यबस्थापन र पुँजीको परिचालन मार्फत समाजमा रुपान्तरण, रोजगारी सिर्जना र गरिवी निवारण गर्न सकिने दावी गर्दै केन्द्रिय सहकारी महासंघका संचालक सदस्य समेत रहेका खाणले सहकारीले महिला शसक्तिकरण र नेतृत्व बिकासमा खेलेको भुमिका अविस्मरणिय रहेको चर्चा गरेका थिए । सो अवसरमा नेपाल प्रहरीमा बढुवा भएका सहकारीका सदस्यहरु प्रहरी उपरिक्षक रामेश्वर कार्की, शसस्त्र प्रहरीका नायव उपरिक्षक सुरज पाण्डेय र बुटवल ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष गाविन्द खनालले सहकारीले मुलुकको बिकासमा खेलेको भूमिकाको चर्चा गर्दै सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यक्ता रहेको बताए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति समेत रहेका खनालले सहकारी मानव जिवनका लागि महत्वपुर्ण बिषयका रुपमा बिकसित हुदै गएको उल्लेख गर्दै आफ्ना सदस्यहरुको आवश्यक्तालाई सकेसम्म सम्बोधन गर्ने प्रयत्न गरिएको र सहकारीलाई प्रदेशस्तरिय बनाउन पहल भैरहेको बताए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष हरि पन्त, सल्लाहकारहरु टंकप्रसाद पराजुली, नेपाली काँग्रेसका नेता युवराज गिरी, शेयर सदस्यहरु प्रहरी उपरिक्षक रामेश्वर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, सहकारीका सचिव देवराज खनाल, सदस्य रमा पाण्डे लगाएतले बोल्दै सहकारीका माध्यमबाट महिलाहरुको जिवनस्तर माथि उठाउन सहयोग गरेको बताउदै सिपको विकास, गरिवी निवारणका साथै आयआर्जनमा वृद्धि लगाएतका काम सहकारीले गरेको बताएका थिए ।

यसैबिच धौलागिरी बहुउद्देश्यीय सहकारीले बुटवल ८ सुख्खानगरस्थित आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको छ ।

 
 
  
 

You may also like