नागरिकता विधेयक पारित गर्न सांसदहरूलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरेका छन् ।

लाखौं नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार उक्त विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरुलाई आग्रह गरेका हुन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उक्त विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको उक्त विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्‍याए ।

गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार उक्त विधेयक सरकारले ल्याएको बताएका छन् ।

‘संविधानको प्रावधान अनुसार नै सरकारले यो विधेयकलाई अघि बढाएको हो । त्यसकारण सरकारको नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौं । नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीय ज्यूहरूलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पुर्‍याउन हार्दिक आग्रह गर्न चाहन्छु,’ गृहमन्त्री खाँणले भने ।

मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसदबाट पारित गराउन सांसदहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।

 
 
  
 

You may also like