तिलोत्तमामा भुमि आयोगद्वारा जग्गा नापजाँच सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भुमि आयोगले भूमिहीन सुकुम्बासीको जग्गा नापजाच सुरु गरेको छ ।आयोगले तिलोत्तमा नगरपालिकामा वडा नं। १३ मा शुक्रबारदेखि जग्गा नाप जाँचको काम सुरु गरेको हो ।

भूमिहिन सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने कामको सुरु भएको र त्यसमा सहयोग गर्नको लागि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलोले नगरपालिका र स्वयम् भूमिहिन सुकुम्बासीहरुलाई पनि आग्रह गर्नुभयो । उहाँले आयोगका कर्मचारीहरुलाई पनि ऐन कानुनको परिधि भित्र रहेर काम गर्न निर्देशन गर्नुभयो । भूमिहिन तथा सुकुम्बासी समस्या सदाको लागि अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले त्यो लक्ष्य प्राप्तीका लागि आयोगले परिणाम देखिनेगरी प्रतिवद्ध भएर काम गरेको दावी गर्नुभयो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकामा भूमिहिन सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकता दिएर उनीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न जग्गाको नापजाँच सुरु भएको बताउँदै आयोगको काममा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भूमिहिनलाई जग्गाको स्वामित्व प्रदान गरिने र सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले उत्तिकै महत्व दिएको भनाई राख्नुभयो । उहाँले वडामा खटिने आयोगका कर्मचारीलाई सहयोग गर्न पनि नगरप्रमुख खाँणले वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आयोगले अहिले रुपन्देहीका १० वटा पालिकामा काम गरिरहेको बताउँदै देवदहमा साउनको पहिलो सातामा पुर्जा वितरण हुने जानकारी गराउनु भयो । आयोगले तिब्र गतिमा काम गर्ने बताउँदै त्यसमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभयो ।

भूमि आयोग रुपन्देहीका सदस्य सचिव नापि अधिकृत कृष्णप्रसाद सापकोटाले आयोगले स्थानीय तहले गरेको तथ्यांक संकलनको अध्ययन तथा नापनक्सा गरेर पुर्जा वितरण गरिने बताउँदै सबैको सहयोग प्राप्त भएमा पुर्जा वितरणमा ढिलाई नहुने भनाई राख्नुभयो । कार्यक्रममा तत्कालिन जिल्ला विकास समिति रुपन्देहीका सभापति रामचन्द्र ढकाल, तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकाल, ६ का अध्यक्ष गणेश पाठक, १४ का अध्यक्ष अस्विन पौडेल लगायतको सहभागिता थियो ।

 
 
  
 

You may also like