काठमाडौंका १० ठाउँमा १३ दिनमा १४ जनामा देखियो हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा जनामा हैजा संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ । १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जीवाणु भेटिएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भइसकेका छन् । दुई जनाको टेकू अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामान्य नै रहेको जनाइएको छ । काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेका छन् । यसले उपत्यकामा हैजा फैलिसकेको देखिएको छ ।

बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो । हैजा नियन्त्रणका लागि परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाइरहेको मिश्राले जानकारी दिइन् ।

 
 
  
 

You may also like