राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि, दल दर्ताका लागि दिए निवेदन

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । उनी राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे लगत्तै आयोग पुगेका थिए ।

पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरिएको छ । दलको सभापति आफू रहेको उनले जानकारी दिए । अरू पदाधिकारीमा देशले चिनेको नभएर देशलाई चिनेको अनुहार भएको बताए । दल दर्ताको निवेदन दिएपछि उनले स्वतन्त्रको माहोललाई सम्बोधन गर्न सकिने भनेर पार्टीको नाम त्यसैगरी राखेको बताए ।

लामिछानेको निवेदन आयोगले दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निवेदन दर्ता भए पनि अझै धेरै प्रक्रिया बाँकी नै रहेकाले आयोगले अध्ययन गरेर नेपालको संविधान र विधानले दर्ताका लागि योग्य देखाएमा दर्ता हुने उनले बताए ।

‘अब ४५ दिनभित्र ५ सय व्यक्तिको नागरिकता र मतदाता नामावली आयोगमा बुझाउनु पर्छ । यो पहिलो प्रक्रिया हो हो । आयोगले नाम दिने नदिने, चिन्ह दिने नदिने भनेर निणर्य गर्नुपर्छ । त्यसका लागि केही समय लाग्छ’ प्रवक्ता पौडेलले भने ।

यो दलले प्रारम्भिक निर्वाचन, बहुसंख्यक युवा (५० प्रतिशत प्लस १), प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, भ्रातृ संगठन र कार्यकर्ता नरहने, ब्यापारिक घरनाबाट चन्दा नउठाउने, राइट टु रिकल एन्ड राइट टु रिजेक्टको ब्यवस्था हुने, डिजिटल डेमोक्रेसी र परिवारवाद निषेध जस्ता मुख्य विशेषता रहने जनाइएको छ ।

 
 
  
 

You may also like