सातै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुन सक्रिय हुँदै गएको छ । आज (मंगलबार) देशका सात वटै प्रदेशमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज प्रदेश-१ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा आज विहानैबाट वर्षा भइरहेको छ । प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१, वागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का केही र मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल देशको प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

 
 
  
 

You may also like