‘हनि ट्रयाप’ मा पारेर रकम असुल्ने गिरोह पक्राउ

काठमाडौं । ‘हनी ट्रयाप’ मा पारी रकम असुल्ने युवतीसहितको गिरोहलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक-९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलाञ्चोक घर भई पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी-७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी-७ सुनसरी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र मेलुङ-५, दोलखा घर भई हाल नखिपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने खुलेको छ ।

प्रहरी अनुसन्धानमा उनीहरूले पीडित व्यक्तिहरूमाथि निगरानी राखी उनको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायत सम्पूणर् विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको देखिएको छ । प्रत्यक्ष भेटघाट पछि झुठ्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर, धम्की र त्रास देखाई ‘ब्याकमेलिङ’ गरेर मोटो रकम असुल्ने गरेको पाइएको महाशाखाले जनाएको छ ।

अनुसन्धानकै क्रममा उनले दबाब दिई रकम दिनलाई बाध्य गराउन केटीको नक्कली- परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक तनाव दिने गरेको खुलेको छ ।

 
 
  
 

You may also like