फेरि बढेर आयो इन्धनको मूल्य : पेट्रोल र डिजेलको खरिद लागत २०० नाघ्यो

काठमाडौँ । इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आज (बिहीबार) प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ । रुस-युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेसनले बढेको मूल्यसहित नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ८०० बिक्री मूल्यअनुसार निमगलाई प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ । नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।

 
 
  
 

You may also like