भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । गण्डकी, वागमती, मधेस र प्रदेश-१ का केही स्थानमा आज (मंगलबार) बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैबाट बर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-१ का धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि प्रदेश-१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश-१ र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।

 
 
  
 

You may also like