आजको राशिफल : कात्तिक ७ गते, बिहीबार

by समतल अनलाइन

वि.सं.२०७६ साल कात्तिक ०७ गते । बिहीबार । इस्वी सन् २०१९ अक्टोबर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्ण पक्ष । तिथि एकादशी,३१ घडी ५३ पला,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र मघा,११ घडी ४३ पला,बिहान १० बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग शुक्ल,१५ घडी ०६ पला,दिउसो १२ बजेर १२ मिनेट उप्रान्त ब्रम्ह । करण बव,बिहान ०८ बजेर २० मिनेट उप्रान्त वालव,बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मूसल योग । चन्द्र राशि सिंह । काठमाडौँमा सूर्योदय ०६ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २८ घडी ०९ पला । रमा एकादशी व्रत। गोवत्स द्वादशी। संयुक्त राष्ट्रसंघ दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रो सँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरू पनि प्रभावित हुनेछन् । व्यवसायमा लगानी गर्दा तत्काल कुनै फाइदा नदेखिए पनि पछिको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैयाँ पैसा माग्नेहरू आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरू सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाई लेखाइमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायकै सन्द्रर्भमा लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडि बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । विवादित विषयहरूबाट निचोड तपाईकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

-ज्योतिषी गणेश काफ्ले ।

 
 
  
 

You may also like