१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि ‘बुस्टर डोज’

काठमाडौं । कोरोना भाइरसविरुद्धको दुई मात्रा (डोज) खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज (शुक्रबार) देखि बुस्टर डोज दिइने भएको छ ।

उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने जनाइएको छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्तको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

यस्तै मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ । सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

 
 
  
 

You may also like