सर्वनाम शिक्षालयका ‘होस्टल वार्डेन’ माथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौको जोरपाटीस्थित सर्वनाम शिक्षालय क्षेत्रमा तनाव भएको छ । शिक्षालयका वार्डेनले तीन बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावकले शिक्षालयमा प्रदर्शन गरेका छन् ।

१५, १३ र १२ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झण्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकले आरोप लगाएका छन् । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

तनाव मत्थर गर्न प्रहरी शिक्षालयमा पुगेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिए ।

अहिले आरोपित वार्डेन बस्नेतको खोजी भइरहेको छ । यता महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनीविरुद्ध जाहेरी दिन विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरिएको र अहिले जाहेरी दर्ताको प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like