नेपाल पनि मंकिपक्सको जोखिममा

काठमाडौं । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन्।

मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ। संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ। संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो। मंकिपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्।

यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ। सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउँछन्। चिकित्सकका अनुसार यसको असर बढी मात्रामा बालबालिका र वृद्धवृद्धामा पर्छ। संक्रमण भएमा तीन दिनदेखि चार सातासम्म लक्षण रहने भएकाले यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी रहन्छ। नेपालमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नेपाल प्रवेश गर्ने स्थान, अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकाका स्वास्थ्यकर्मीलाई सजग रहन निर्देशन दिइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

 
 
  
 

You may also like