ताराको विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्यु, शोकमा गाउँ

धनुषा । आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका-११ लोटा टोल बस्ने राजनकुमार गोेलेसहित सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ र तुलसादेवी काठमाडौंमा बस्दै आएका थिए । उनीहरू चुनावका लागि गाउँ आएका थिए ।

चुनाव सकिएपछि राजनकुमार परिवारसहित शुक्रबार नै गाउँबाट पोखराका लागि निस्केका थिए । शनिबार दिनभरि पोखरामा बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमान चढेका थिए । मृतक राजनका बहिनी ज्वाइँ मदन लामाका अनुसार उनीहरूले घरबाटै मुक्तिनाथको दर्शन गर्ने योजना बनाएका थिए । घरमा श्रीमती र छोराछोरीलाई फर्केर आउँछु भन्दै गएका गोलेसहितका परिवारका सदस्य कहिले नफर्किने गरी बिदा भए ।

एउटै परिवारका सात जनाको मृत्युको खबरले पूरै गाउँ शोकमा डुबेको छ । घटनाको खबर पाए लगत्तै आफूहरु स्तब्ध भएको मिथिला नगरपालिका- ११ का वडाध्यक्ष वेदबहादुर कार्कीले बताए । यसैबीच, घटनाको जानकारी पाए लगत्तै मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो मृतकका परिवारलाई भेट्न पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा मृतक राजन उनका स्वकीय सचिव थिए ।

 
 
  
 

You may also like