तारा एयरको बेपत्ता विमान अझै भेटिएन, आजलाई खोजी कार्य रोकियो

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै फेला पर्न सकेको छैन् । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान मुस्ताङ लेते पुगेपछि १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । दिनभर खोजी गर्दा पनि विमानको कुनै पत्तो नलागेको हो । खराब मौसमका कारण विमानको खोजीमा समस्या भएको थियो ।

विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । विमान मुस्ताङको थासाङ गाउँपालिकाको मानापाथी हिमालको खोचमा खसेको आशंका गरिएको छ । उद्धारका लागि खटिएको नेपाली सेनाको टोली अझै मानापाथी भने पुग्न सकेको छैन ।

उद्धारका लागि सेनाको एमआई-१७ र फिस्टेल एयरको गरेर दुई हेलिकोप्टर प्रयोग गरिएको छ । ७ बजेसम्म पनि विमानबारे कुनै अधिकारिक सूचना आएको छैन । मौसमको कारण राति भने खोजी कार्य नहुने मुस्ताङ प्रहरी प्रमुख रामबहादुर दानीले जानकारी दिए ।

‘मौसम अझैं खुलेको छैन हेलिकप्टर उड्ने अवस्था छैन । अब राति पनि भयो । केही खबर पाए राति पनि उद्धार त हुन्छ तर, यही अवस्थामा उद्धारको सम्भवना आजलाई कम हुँदै गएको छ । हामी भोलि बिहानदेखि नै फेरि लाग्छौं,’ डीएसपी दानीले भने ।

 
 
  
 

You may also like