भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी पुरा, सुरक्षा व्यवस्था कडा

भारतीय सुरक्षा फौजसहितको टिमले गर्‍यो हेलिप्याड जाँच

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषका सिद्धिचरण भट्टराईका अनुसार बुद्ध पूर्णिमाका दिन (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक सबैजसो तयारी पूरा भएको छ ।

मोदी लुम्बिनी आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लुम्बिनीमा आज (आइतबार) भारतका दुई वटा हेलिकप्टरमा भारतीय सुरक्षा फौजसहितको टिम आएर हेलिप्याड जाँच गरी फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरमा पुजाआजा गरी सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री नारायण खड्का आज लुम्बिनी पुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक-चोकमा स्वागतद्वार निर्माण गरिएको छ । सडक क्षेत्रको सुरक्षा ब्यबस्था पनि कडा बनाइएको छ ।

मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ ।

लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किमि कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्बनीको झन्डा टाँगिएको छ । त्यस्तै पर्सा चोकदेखि महिलबारसम्म पनि पोलमा नेपाल, भारत र बौद्ध धर्मावलम्बीको झण्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ । ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म मोदी पुग्ने बाटो पनि बनाइएको छ । कालोपत्रे नभए पनि राम्रो बेस बनाएर बाटो चिटिक्क बनाइएको छ ।

 
 
  
 

You may also like