तुलसीपुर । तुलसीपुरमा करिब तीन करोडको लागतमा तुलसी डेरी उद्योग सञ्चालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचांै परियोजनाका रूपमा तुलसी डेरी उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

दुग्धजन्य सामग्री उत्पादन तथा बजारीकरणका लागि दुग्ध प्रशोधन केन्द्र तुलसी डेरी उद्योग सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी गराए ।

प्रदेश सरकारको २० लाख अनुदान तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख ऋण सहयोग र बाँकी संस्थाको २ करोड ३० लाखको लागतमा उद्योग सञ्चालनमा आउने भएको हो ।

उद्योग सञ्चालनका लागि करिब ३ कठ्ठा जग्गा खरिद गरिसकेको र अन्य आवश्यक उद्योग सामग्री खरिद गरिसकेको अध्यक्ष भण्डारीले बताए । यसै वर्षको अन्तिमसम्म सञ्चालनमा ल्याउने आवश्यक संरचना निर्माण गरिरहेको उनको भनाइ छ ।

तुलसीपुरमै पहिलोपटक सञ्चालनमा आउन लागेको डेरी उद्योगले दुग्धजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । उद्योगले किसानले उत्पादन गर्ने दुग्धजन्य सामगीको बजारीकरणमा सहयोग पुग्नेछ । उद्योगले साउन १ गतेदेखि दूध संकलन तथा बिक्रीवितरण भने सुरु गरिसकेको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले संस्थालाई आगामी तीन वर्षभित्र फिर्ता गर्नेगरी ४५ लाखको चेक हस्तान्तरण गरेको छ । उक्त रकम ब्याज नलाग्ने गरी उपमहानगरपालिकाले ऋण सहयोग गरेको हो ।

‘कृषिको प्रवद्र्धनका लागि र दूधका बजारीकरणका लागि यस्तो गरिएको हो,’ नगरप्रमुख घनश्याम पाण्डेले भने । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई पाण्डेले ४५ लाखको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तारण गर्दै नगरप्रमुख पाण्डेले डेरी उद्योगले कृषि प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने बताए ।

 
 
  
 

You may also like