बुटवलका मुस्लिम समुदाय काँग्रेस उम्मेदवार पाण्डेयको पक्षमा

बुटवल ।बुटवलको मुस्लिम समुदाय काँग्रेस उम्मेदवार खेलराज पाण्डेयको पक्षमा खुलेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका पाण्डेलाई उक्त समुदायले जितको अग्रिम शुभकामना समेत व्यक्त गरे ।

ईदुल फित्रको अवसरमा मंगलबार बिहान बुटवलको रजाए मुस्तफा मस्जिदमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मस्जिद समितिका अध्यक्ष रहमद खाँ मियाले काँग्रेस उम्मेदवार पाण्डेयलाई जितको अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले अघिल्लो स्थानीय निर्वाचनमा पनि मुस्लिम समुदायले काँग्रेसलाई नै सहयोग गरेको स्मरण गराउँदै यो निर्वाचनमा पनि आफूहरु प्रतिवद्ध भएर काँग्रेसलाई नै मतदान गर्ने जानकारी गराउनु भयो ।

त्यस अवसरमा बोल्दै मेयर उम्मेदवार पाण्डेयले मुस्लिम समुदायले आफूप्रति देखाएको साथ सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफूले मेयर पदमा जित हासिल गरेमा सबै धर्म समुदायका मानिसलाई एउटै सुत्रमा बाँधेर एक अर्का प्रतिको आस्था, विश्वास र सम्मानमा अझै बढोत्तरी हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 
 
  
 

You may also like