काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी

काठमाडौं । काठमाडौं उपत्यकामा आज (आइतबार) देखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो ।

केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिएका छन् ।

गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ ।

अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताए । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ । केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ ।

 
 
  
 

You may also like