चितवन । चितवनको भरतपुर महानगरपालिका-३ कमल नगरमा भएको आगलागीमा ६ वटा पसल जलेर नष्ट भएका छन् । तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।
बिहान २ बजेतिर आगलागी भएको सूचना पाएपछि आगो निभाउन खटिएकोमा बिहान सात बजे मात्र नियन्त्रणमा लिन सफल भएको डिएसपी अधिकारीले बताए । आगो निभाउन चार वटा दमकलको सहयोग लिइएको थियो ।
आगलागीमा परेर बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, बासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसलमा क्षति पुगेको छ । क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी अधिकारीले जानकारी दिए ।