काङ्ग्रेसबाट खेलराज पाण्डेलाई बुटवलमा मेयर पदको लागि सर्वसम्मत सिफारिस

बुटवल ।नेपाली काङ्ग्रेस बुटवल नगर समितिको बैठकले मेयर पदको लागि खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए ।

नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्‍वारी निश्चित भएको सचिव पोखरेलले बताए । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए ।

पाण्डे पार्टीका नगर सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए । सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन् ।

५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेद्‍वार हुनुपर्ने मत राख्दै आएका थिए । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दावी गर्दै आएको छ ।

 
 
  
 

You may also like