सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन् ।

आज सोमवार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बाग्मती नदी पनि प्रदूषित बन्न पुगेको बताइन् । उनले भनिन्, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जोसुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।

मन्त्री झाँक्रीले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरूको रटानका कारण थप समस्या सिर्जना भएको बताइन् । अहिले विद्यमान कानुन र स्रोत साधनले बाग्मती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै उनले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिइन् ।

कार्यक्रममा सरकारका पूर्व मुख्य सचिव एवम् बाग्मती सफाइका मुख्य अभियन्ता लिलामणि पौडेलले बागमती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्न बताए । देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन उनले सरकारसँग माग गरे । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको बाग्मती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा गाह्रो भइरहेको बताए ।

 

 

 
 
  
 

You may also like