तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ मौसमविदको चेतावनी

काठमाडौं । देशका तीन प्रदेशका पहाडी भेगमा आज (बुधबार) चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार दिउँसो प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम आंशिक बदली रहने छ । यस क्रमममा प्रदेश-१ को पहाडी भेगका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । यस क्रममा प्रदेश नं १ को पहाडी भेगका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : प्रदेश-१ का पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना तथा तराईमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

महाशाखाका अनुसार अहिले (बुधबार बिहान) भने प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म र देशका अन्य स्थानमा आंशिक बदली छ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like