सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण

तनहुँ । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनु मात्र नभई संविधान रक्षाका लागि भएको जिकिर गरेका हुन् ।

गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमा प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए। उनले भने, ‘संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन। मुलुकको विकास र शान्तिका लागि हो ।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ छ ।

उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, ‘उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौं । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।’

गृहमन्त्री खाँणले तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पुर्याएको चर्चा गर्दै भने, ‘भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त गर्ने थिएन ।’

 
 
  
 

You may also like