‘कृषिमा अनुदानको विकल्प खोजौं’

बुटवल ।सरकारले कृषिमा दिने अनुदानले प्रतिफल देखाउन नसकेको भन्दै आगामी कृषि योजनामा अनुदानको विकल्प खोज्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै कृषिसम्बद्ध व्यक्तित्वहरुले सरकारबाट वितरित अनुदानले कृषि क्षेत्रमा प्रतिफल दिन नसकेको बताएका हुन् ।

मिसन संचालनका लागि सहयोगी कार्यक्रम अन्तरक्रिया गोष्ठीमा बोल्दै पशुपंछी तथा मत्स्य विकास निर्देशक परवेज आलमले सरकारले अहिलेसम्म गरेको कृषिको आनुदानिक लगानीले प्रतिफल दिन नसकेको बताए । उनले अनुदानको विकल्प खोज्न किसानहरुलाई समेत आग्रह गरे । उनले भने भने–‘अनुदान अब कृषि विकासको विकल्प हुन सक्दैन । किसान साथिहरुले यसको अन्य विकल्पहरु सुझउनु प¥यो ।’

त्यस्तै कृषि, खाद्य प्रविधि, भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले अनुदान प्रक्रिया आफैमा झन्झट र कृषि क्षेत्रका लागि नतिजा दिन नसकेको बताए । उनले किसानहरुका लागि लागत कम गर्न नयाँ वितरण प्रणालीको खोजी गर्नुपर्नेमा जोड दिए । उनले भने–‘किसानहरुलाई बर्गिकरण गरी सामाथ्र्य विकास हुने गरी लगानी गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै भण्डारीले सरकारले चलाएका मिसन कार्यक्रमहरु उत्पादनमूखि हुनुपर्ने बताए ।
त्यस्तै कृषि विज्ञ डा. हरिहर कुँवरले कृषि विकासका लागि सरकारी योजनाहरु आफैमा राम्रो रहेपनि कार्यान्वयनका चरणमा भने प्रतिफल दिन नसक्ने समस्या दोहोरिएको बताए । उनले कार्यान्वयन हुने गरी व्यवहारिक पाटोलाई ध्यानमा राखेर योजनाहरुको विकास गरिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा सहभागी किसानहरुले सरकारले किसानलाई अनुदानको लोभ देखाउनुभन्दा किसानको लागत कम गर्नेखालका कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल व्यवसायिक वाख्रा पालक महासंघका अध्यक्ष प्रेमसागर पौडेल, भेटेरिनरी अस्पताल तथा पशुपन्छी तथा विज्ञ केन्द्र रुपन्देहीकी पशुविज्ञ अधिकृत डा प्रतिमा विष्टलगायत पशुपालक संघसंस्थाहरुको प्रतिनिधि तथा किसानहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like