स्थानीय तहको निर्वाचन : मतपत्रको परीक्षण छपाइ शुरु

काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गएर मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका छन् । मतपत्र छपाइभन्दा अघि मेशिन परीक्षण गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यसपटक आयोगले १० प्रतिशत मात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।

 

 
 
  
 

You may also like