सर्लाहीको फुलजोरमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ बढी घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । बसमा सवार २५ बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

गुडिरहेको बस एक्कासी खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

 
 
  
 

You may also like