सामाजिक सद्भाव, राजनैतिक स्थायित्व र आर्थिक उन्नतीका लागि हिन्दु राष्ट्र नेपाल

हरिश ढकाल
बुटवल । सामाजिक सद्भाव, राजनैतिक स्थायित्व र आर्थिक उन्नतीका लागि हिन्दु राष्ट्र नेपाल भन्ने मुल नारा तय गर्दै बुटवलमा आयोजित दुई दिवसिय धर्मसभा सम्पन्न भएको छ । बिश्व हिन्दु महासंघ लुम्बनी प्रदेश समिति र जिल्ला समिति रुपन्देहीले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरिय धर्मसभाले उक्त नारा तय गर्दै ११ बुंदे घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्रमा नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नका लागि सबै राजनैतिक दलहरुलाई माग गर्ने र माग पुरा गराउन आग्रहका साथ दवाव सिर्जना गर्ने खालका सशक्त रणनैतिक कार्यक्रमहरु संचालन गर्ने उल्लेख गरिएको छ । साथै प्रदेशभरका मठ, मन्दिर, चैत्य, गुम्बा, धुनी, थान, नदि, घाट, आश्रम लगाएतका समस्त सनातन परम्पराका देवस्थल एवं तिर्थस्थल संरक्षणका लागि सनातन सम्पदा संरक्षण गठन गरि स्थानिय निकायसम्म बिस्तार गर्ने बताइएको छ ।

यस्तै मठ मन्दिर गुरुकुल आश्रमहरुको बिकास र संरक्षण गर्नुका साथै तिनिहरुको आम्दानी धार्मिक परोपकारी क्षेत्रमा परिचालित गराउने र हिन्दु धर्मबिरुद्ध हुने गतिबिधी रोक्न लागि सरकारलाई सुझाव दिनुका साथै पाठ्यपुस्तकमा भएका हिन्दु धर्ममा ठेस पुग्ने गरि निर्माण गरिएका स्वदेशी र बिदेशी हिन्दु बिरोधी पाठ्यक्रम परिमार्जन गर्नका लागि सरकारलाई आवश्यक दवाव दिने निर्णय गरिएको छ ।

छुवाछुत र भेदभाव जस्ता समाजमा बिद्यमान कुसंस्कार र कुरीतीहरुलाई अन्त्य गर्ने खालका सचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि घोषण पत्रमा उल्लेख गरिएको छ । घोषणा पत्रमा हिन्दु धर्मको रक्षाका लागि हरेक घरबाट कम्तिमा एकजनाले हस्ताक्षर गरि सरकारलाई बुझाउने कार्यक्रम समेत तय गरिने बताउदै गुठीलाई रैकर बनाउने कानुन तत्काल खारेज गर्न माग गर्ने र रैकर बनाइएका गुठीलाई फिर्ता गर्न पहल गर्ने उल्लेख गरिएको छ । घोषणा पत्र जारी गर्दै बिश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष एवं प्रदेश अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले हिन्दु धर्म संरक्षण र प्रबद्र्धनमा सहयोग पुराउने प्रतिबद्धता जनाउने राजनैतिक दललाई मात्र भोट हाल्ने निर्णय गरिएको बताउनु भयो ।

कार्यक्रममा बिश्व हिन्दु महासंका राष्ट्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारी, डा. भोलानाथ योगी, डा. चिन्तामणी योगी लगाएतले झण्डै ८२ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मको संरक्षण र नेपालको पहिचानका लागि सनातन हिन्दु राष्ट्र नेपाल घोषणा गर्नु पर्ने कुरामा जोड दिनु भयो । नेपालको नयाँ संबिधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिएपछि बिश्व हिन्दु महासंघले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम राख्न वा यसबिषयमा जनमत संग्रह गर्न माग गर्दै आएको छ ।

 
 
  
 

You may also like