चीनको चेङ्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा

by समतल अनलाइन

बुटवल । चीनको चेङ्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि प्रस्ताव आएको छ । चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ बिआरआइसिचुवान अन्तर्राष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिन गएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उनले सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताए ।

उनले भ्रमण विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदान प्रदानका लागि फलदायी भएको बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वका ३२ देशका ४३ वटा प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा माननीय मुख्यमन्त्री पोखरेलले नेपाल—चीन सम्बन्ध र सहकार्यका बारेमा बोल्दै चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको चर्चा गरे ।

 
 
  
 

You may also like