बुटवल ।प्रेस चौतारी नेपाल, रुपन्देहीले श्रमजीवि पत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रेस चौतारी रुपन्देहीको बिहीबार बुटवलमा बसेको प्रथम वैठकले कम्तीमा १० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पुर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरेको छ । समितिको सदस्यमा पूर्व जिल्ला अध्यक्षद्वय भरत केसी र दिनेश पाण्डे रहेका छन् ।
images
कल्याणकारी कोषका लागि संगठनका जिल्ला अध्यक्षसहित कार्यसमितिका सबैले सदस्यले अनिवार्य रकम जम्मा गर्ने निर्णय बैठकले गरेको सचिव केशव भण्डारीले जानकारी दिए ।
त्यस्तै कल्याणकारी कोषका लागि प्रेस चौतारीका पूर्व सदस्य एवं नेपाल अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारीले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । त्यसै गरी नेकपा एमाले रुपन्देहीका उपसचिव तथा जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पनि कोषका लागि आवश्यक रकम सहयोग गर्ने घोषणा गरेका छन् ।
बैठकले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालयमा कार्यसमितिका पदाधिकारीसहित चारजना सदस्य थप गरिएको हो । जसमा विकास पराजुली, डि.बी. सुस्लिङ्ग, अस्मिना पाण्डे र टिका खरेल रहेका छन् ।
त्यस्तै बैठकले कार्यसमिति सदस्यमा दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले संगठनको आगामी कार्ययोजना निर्माणका लागि आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मा दिएको छ ।
त्यस्तै बैठकले विभिन्न पेशागत एवं व्यवसायिक संगठन तथा जिल्ला पार्टी नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्न लागेको फूटसल प्रतियोगितामा संस्थागत सहभागिता जनाउने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले संगठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै लैजान र यसका गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिए । उनले अहिले सत्ता पक्ष प्रतिपक्षीविरुद्ध गठबन्धन गर्ने अवस्थामा आएको र यो एमालेप्रति बढ्दो आकर्षणको प्रभाव रहेको बताए । उनले अब स्थानीय तहको निर्वाचनमा आवश्यक योजना बनाएर लाग्न आग्रह गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले संगठनमाथि अव महत्वपूर्ण कार्यभार आएको भन्दै बिगतका निर्णयहरुको समेत कार्यान्वयन गर्दै आगामी कार्यकालका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका अध्यक्ष लक्ष्मण पौडेलले संगठनलाई अब सुव्यवस्थित ढंगले अगाडि बढाउने र यसका लागि अव छिटै नै कार्ययोजना निर्माण गरी अगाडि बढिने बताए । बैठकमा संगठनका उपाध्यक्ष बीपी गौतम, सहद्वसचिव दीपक न्यौपाने, रबिन्द्र प्रताप गुप्ता, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सदस्यहरु अस्मिना पाण्डे, विष्णु घिमिरे, डिबी सुस्लिंग, टिका खरेल लगायतले आ आफ्नो धारणा एवं सुझाव दिएका थिए ।