सहरी कृषि प्रबद्र्धनमा बुटवलको कायापलट ,किसानलाई प्रोत्साहन र प्रवद्र्धन

फसल धितो राखेर अनुदान कार्यक्रम
बुटवल । दुई बर्षअघि बुटवल उपमहानगरपालिका वडा नं ११ का भूपेन्द्र सारुको खुट्टामा समस्या आएपछि आफूले चलाइरहेको किराना बसल बन्द गर्न बाध्य बने । उनी र उनको परिवारको धरोहर थियो किराना तर अब बन्द भएपछि सारु पुरै एक बर्ष बेरोजगार बन्न पुगे ।
आम्दानीको बाटो बन्द भएपछि परिवार पाल्न मुस्किल–मुस्किल प¥यो । के गर्ने, कसो गर्ने उनले मेसो पाइरहेका थिएनन् । ‘विदेश जान सक्दिनथेँ, यहाँ गर्न केही थिएन । एक बर्ष यसै विताइयो,’ उनले भने ।

सारुसँग वडा नं १८ मा केही जमिन भने थियो । त्यसमा केही उब्जनी गरेर बाँच्न सकिन्छ कि भन्ने लागेपनि कसरी के गर्ने भन्नेबारे भने उनलाई केही थाहा थिए । कसरी बाँच्ने होला भनेर सोचिरहेका सारुलाई ठिक त्यती नै बेला बुटवल उपमहानगरपालिकाको अनुदानमा बिउ दिने कार्यक्रम सारथी बनेर आयो । साथीहरुबाट उनले थाहा पाए, उपमहानगरपालिकाले बिउ सहित त्यसलाई कसरी उब्जनी गर्ने भनेर सिकाइरहेको छ ।


त्यसपछि त उनले झटपट आफू, आफ्ना दाई भलबहादुर सारु, छिमेकी नेपाली पुलिसबाट रिटायर्ड भएर बसिरहेका खेलिन्द्र पुन र बुद्धबहादुर गाहाको एउटा समूह बनाए । यसै फालिएको जमिनमा उपमहानगरपालिकाबाट करेलाको बिउ लगेर रोपिहाले । भूपेन्द्र सारुसहित उनको समूहका चारै जना त्यसपछिका दिनमा बेरोजगार बन्नु परेको छैन । आज बुटवलमा मानिसहरुले जैविक तरकारी उत्पादन कृषक भनेर उनीहरुलाई चिन्छन् ।
उनीहरुको समूहले पूर्ण जैविक तरकारी उत्पादन गरेर आफ्नो मात्रै जीवन धानेको छैन, बुटवललाई स्वच्छ तरकारी पनि खुवाएको छ । सारु भन्छन्,‘अझै पनि धेरैले हेप्ने पेशाको रुपमा छ कृषि । तर मेरालागि भने यो महत्वपूर्ण निर्णय सावित भएको छ । यसमा उपमहानगरपालिकाको सहयोगले निकै महत्वपूर्ण भूमिका खेल्यो ।’
बिउ मात्रै होइन, त्यसपछि उनको समूहलाई उपमहानगरपालिकाले छाप्रा हाल्न, टनेल बनाउन र पशुपालनका लागि घाँस काट्ने मेसिन किन्न अनुदान दिएको छ । त्यसको प्रत्यक्ष असर सारुको समूहको उत्पादन क्षमतामा देखिएको छ । ‘सुरुका दिनमा भन्दा अहिले उत्पदन धेरै बढेर गएको छ,’ सारुले भने । सारुको समूह बुटवल उपमहानगरपालिकाको कृषि नीतिबाट प्रत्यक्ष फाइदा उठाएका प्रतिनिधि मात्रै हो । कृषि क्षेत्रमा केही गर्न चाहनेहरु सयौंको सारथी बनिरहेको छ, उपमहानगरपालिका ।

नगरप्रमुखका रुपमा शिवराज सुवेदी र उपप्रमुखका रुपमा गोमादेवी आचार्य चुनिएर आउनुभन्दा अघि बुटवलमा कुनै पनि कृषक समूह थिएनन् । तर, अहिले भूपेन्द्र सारुको जस्तो १५ वटा व्यवसायिक कृषक समूह उपमहानगरको कृषि नीतिबाट प्रत्यक्ष लाभान्वित भइसकेका छन् । ती बाहेक बुटवलमा अहिलेसम्म ८० जना व्यवसायिक कृषक, आठ वटा व्यवसायिक उत्पादक समूह, ५ वटा कृषि सहकारीले उपमहानगरपालिका कै सहयोगमा व्यवसायीक कृषि अंगालेका छन् ।

रासायनिक मल व्यवस्थापनका लागि मात्रै बुटवलमा १२ वटा सहकारीले जिम्मा पाएका छन् । किसानका घर दैलोमा रहेका वडा कार्यालयहरुबाट नै अनुदानको मल वितरणका लागि उपमहानगरपालिकाले स्वीकृती दिएको छ । तीबाहेक बाँझो जग्गाको सदुपयोग गर्ने गरि जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यवसायीक तरकारि उत्पादन पकेट विकास कार्यक्रम, व्यवसायिक मौरी पालन, फलफुल बगैचा स्थापनाका लागि सामुहिक खेति, कृषि औजार उपकरणमा अनुदान, ‘एक स्थानिय तह, एक उत्पादन’ जस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र कायापलट भएको छ ।

त्यसबाहेक बुटवलले पाँच स्थानलाई तीन क्लष्टरमा बाँडेर करिब चार सय कठ्ठाको तरकारी पकेट क्षेत्र बनाएको छ । अर्का तर्फ च्याउलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत दुई वटा च्याउ उत्पादन पकेट समुह निर्माण गरेको छ । च्याउका यी समूहले दुई सय ५० क्विन्टल ताजा च्याउ उत्पादन गरी हालसम्म २७ लाख रुपैयाँको च्याउ बिक्री गर्न सफल भएका छन् । रसायनबिहीन ताजा अर्गानिक तरकारी उत्पादन गर्न बुटवलले ८० वटा हरितगृह निर्माण गरेको छ । त्यस्तै वाली धितो राखी सहकारिलाइ सहुलियत कृषि ऋणदिने कार्यक्रम अनुसार यो बर्ष बुटवलले धान वालीमा चार सय ५० मेट्रिक टन र गहुँ वालीमा दुई सय ७५ मेट्रिक टन वाली धितोमा राखिदिएको छ ।

स्थानीयको जनस्तर उकास्नका लागि कृषि विकासलाई नै प्रमुख नीति बनाएको बुटवलले ‘के पाइन्छ होइन के चाहिन्छ’ भन्ने आधारमा कृषि विकासका कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् । स्थानीयलाई कृषिबाट बिमुख नबनाई दिगो जीवनस्तर वृद्धिका लागि आधुनिक व्यवसायीक कृषि विकासको लक्ष्यलाई साकार बनाउन उपमहानगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

 

बुटवलमा कृषि विकासका कार्यक्रमहरु नगर प्रमुखकै अध्यक्षतामा रहेको स्थानिय कृषि व्यवसाय सञ्चाल समितिमार्फत सञ्चालन भइरहेका छन् । बुटवलले अंगिकार गरेको कृषि नीतिले बुटवलमा रहेको तीन हजार नौ सय ३९ हेक्टर खेतीयोग्य जग्गामा कृषि उत्पादन गर्दै त्यो जग्गाको उत्पादकत्व बृद्धि गर्दै लैजाने लक्ष्य राखेको छ ।

जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन !

बुटवल उपमहानगरपालिकाले कृषि कर्ममा युवालाई आकर्षित गर्नेगरि जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पु¥याएको छ । अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरी कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बुटवल उपमहानगरपालिकाले आव ०७५÷०७६ देखि नै बुटवलका बाँझो जग्गा तथा खेती नगरिएका जग्गाको सदुपयोग गरि कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो ।

कृषि कर्म गर्ने सोंचमा रहेका तर जमिन नभएकालाई जग्गा भाडामा लिएर खेती गर्नका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको बताउँदै प्रमुख सुवेदीले सहरका बस्ती बाहेकका क्षेत्रमा कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए । आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि यसखालका कार्यक्रम प्रभावकारी हुने प्रमुख सुवेदीको विश्वास छ ।
गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गरेका थिए । यो वर्ष लकडाउनको अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी दिए । अनुदान रकमका लागि तोकिएको जग्गामा तोकिएकै क्षेत्रफलमा कृषि बाली लगाएपछि मात्रै प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको जिसीको भनाइ छ ।

कम्तिमा चार देखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरि सम्झौता भएको छ । प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको छ । अरुको जग्गा भाडामा लिएर खेती गरेका बुटवल–११ नहरपुरका किसान आत्मराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिसकेको बताए ।

औषधीय गुण भएका तरकारीमा जोड

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेका कृषि कार्यक्रमहरु अर्गानिक कृषि उत्पादन लक्षित छन् । यसका लागि उपमहानगरपालिकाले हरित गृह, जैविक मल तथा विउमा ठूलो लगानी गरेको कृषि शाखा प्रमुख जिसीले बताए । बुटवलका किसानले मौसमी, बेमौसमी तरकारी खेती र मसला बाली लगाउँदै आएका छन् । बेमौसमी तरकारीका रुपमा कांक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्शानी, च्याउ खेती गर्न हरित गृहको निर्माणमा बुटवलले लगानी गरी प्रवद्र्धन गरेको छ । किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उत्पादन गरिएको तरकारीमा सकभर जैविक मलको प्रयोग गर्न लागाइएको बताए । आउँदो वर्ष अर्गानिक उत्पादन र जैविक मलमा समेत थप अनुदानको व्यवस्था गर्नेबारेमा बुटवलले थप कार्यक्रम ल्याउने उनको भनाई छ ।

बजार क्षेत्रमा कौसी तरकारी खेती

ब्यस्त बजार क्षेत्रका घरहरुमा कौसीमै तरकारी तथा साना फलफुलको खेती गर्न मिल्नेगरि बुटवल उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिएको छ । तालिम र प्रशिक्षण लिएकाहरुले घरका छत र कौसीमा नमुना खेती गरिरहेका छन् । खाद्य, पोषण तथा कौसी खेति कार्यक्रमका लागि २५ जना श्रोत ब्यक्ति तयार पारेको छ । कौसी खेतीको सम्भावना हेर्न २५ वटा डेमो निर्माण पनि गरेको छ । जग्गा नहुनेहरुालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन कौसी खेतीको अवधारणा अगाडी सारिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । उनले कृषि बाली उत्पादन, प्रशोधन तथा बजारिकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको बताए ।
जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको र त्यहाँ घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाइएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीको भनाइ छ । प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

बुटवलमा मुलुककै नमुना काम ः फसल धितो राखेर किसानलाई दाम

बुटवलले सुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्याकंन गर्दै उनीहरुलाई पायक पर्ने सहकारी मार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ । किसानले उत्पादन गरेका खाद्य बाली धान र गहुँको बीउलाई सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलव्प्ध गराइएको छ ।
बुटवल–१७ मा रहेको सिम्रिक कृषि सहकारीले ७५ मेट्रिक टन धान, ८० मेट्रिक टन धानको बीउ, एक सय ४० मेट्रिक टन गहुँ र ९०मेट्रिक टन गहुँको गुणस्तरीय बीउ भण्डार गरेको छ । यस्तै बुटवल–१६ को आदर्श कृषि सहकारी संस्थाले ६३ मेट्रिक टन धान भण्डारण गर्दै उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलीयत दरको ऋण प्रवाह गरेको छ । वाली धितो राखी सहकारिलाइ सहुलियत कृषि ऋणदिने कार्यक्रम अनुसार यो बर्ष बुटवलले धान वालीमा चार सय ५० मेट्रिक टन र गहँु वालीमा दुई सय ७५ मेट्रिक टन वाली धितोमा राखिदिएको छ ।

किसानलाई आर्थिक प्रोत्साहन

कोरोना भाइरस (कोभिड–१९) प्रभावित पशुपालक किसानलाई पनि आर्थिक प्रोत्साहन गरेको छ । यसअघि कृषि उत्पादनका अरु विभिन्न क्षेत्रमा समर्पित किसानलाई आर्थिक प्रोत्साहन उपलव्ध गराइएको थियो ।
बुटवल उपमहानगरपालिकामा विभिन्न ठाउँमा जीविकोपार्जनका लागि पशुपालन गर्दै आएका वडाका ८० जना किसानलाई उपमहानगरपालिकाले प्रोत्साहनस्वरुप नगद सहयोग गरेको हो । नगरपालिकाले यो कार्यक्रमलाई अरु बर्षहरु पनि सञ्चालन गर्ने छ । तरकारी तथा खाद्य बाली उत्पादन गर्दै आएका किसान, तिनै किसानले सञ्चालन गरेका सहकारी संस्थालाई र पशुपालन गर्दै आएका किसानलाई प्रत्साहन गरिएको हो । यसले कृषिमा लाग्न स्थानीयलाई प्रेरित गर्ने उपमहानगरको विश्वास छ । प्रदेश सरकारको सहकार्यमा करिब ११ लाख रुपैयाँ बराबरको आर्थिक प्रोत्साहन वितरण गरिसकेको छ ।

आत्मनिर्भरताका लागि नीति

बुटवलले आगामी आर्थिक २०७८÷७९ मा ‘के पाइन्छ होइन, के चाहिन्छ’को नीति अवलम्बन गर्दैै कृषिक्षेत्रमा आत्मनिर्भर गराउने खालका कार्यक्रमहरु बनाएको छ ।
कृषि वस्तुको संकलन, प्रशोधन, संचय र ढुवानी आदि कार्य गर्ने कार्यका लागि प्रदेश सरकार तथा केन्द्र सरकारको सहकार्यमा प्रदेश स्तरीय कृषि थोक बजार नगरभित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजिकरण गर्ने उपमहानगरको योजना छ । कृषक, कृषक समूह, सहकारीहरुलाई कृषिमा आर्कषित गर्न मल र बीउको खरिद मूल्यमा तथा जग्गा भाडामा लिई कृषि कार्यमा लागेकालाई जग्गा भाडामा अनुदान प्रदान गर्ने कार्यक्रमलाई बुटवलले आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने भएको छ ।
फसल राखेर ऋण उपलब्ध गराउने नीति सफल रहेकाले बुटवलले थप प्रभावकारीता हुने गरी निरन्तरता दिने बताएको छ । त्यस्तै उर्वर कृषि भूमि तथा सावर्जनिक जग्गा लाई गैर कृषिको रुपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै फलफुल तथा सुहाउँदो बाली क्षेत्र विस्तार कार्यव्रmम पनि सञ्चालन गर्नेछ ।

त्यस्तै बुटवलले यसै बर्ष पशु बधशाला निर्माण सक्ने र सञ्चालनमा ल्याउने गरी काम अगाडी थालेको छ । मासुजन्य उत्पादनका लागि महत्वपूर्ण मानिएको उक्त आयोजना प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा बुटवल रामनगरमा निर्माणाधीन छ ।
यी बाहेक पशु नश्ल सुधार कार्यक्रम, पशुपंक्षी विकास तथा पशुस्वास्थ्य कार्यक्रम तथा पशुपंक्षी कृषक पहिचान गर्नको लागि तथ्याकं संकलन जस्ता कार्यक्रमलाई निरन्तरता दिने नीति बुटवलको रहेको छ ।

बुटवलले कृषिमा सञ्चालन गरेका महत्वपूर्ण कार्यक्रमहरुः
– दुई वटा च्याउ उत्पादन पकेट विकास कार्यक्रम
– ५० प्रतिशत अनुदानमा फलफुल बिरुवा वितरण कार्यक्रम, २५ हजार बिरुवाको सम्झौता भएको
– ५० प्रतिशत अनुदानमा साना कृषि औजार तथा यन्त्र उपकरण कार्यक्रम, २२ जना कृषक प्रत्यक्ष लाभान्वित
– कोभिड विशेष कार्यक्रम अन्तर्गत ‘एक स्थानिय, तह एक उत्पादन’ कार्यक्रम, ५० प्रतिशत अनुदानमा २३ वटा कार्यक्रम
– कृषि योग्य भुमि व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार
– खाद्य, पोषण तथा कौसी खेति कार्यक्रमका लागि २५ जना श्रोत ब्यक्ति तयार, २५ वटा डेमो निर्माण
– स्यालो ट्युवेल जडान, ११ वटा सन्चालन हुने क्रममा
– उन्नत तथा मुल बीऊमा ५० प्रतिशत अनुदान वितरण, धान र गहुमा २४ हजार केजी बिउ वितरण
– वडा नं १५ मा कृषक मोडेलमा सञ्चालन हुने कृषि उपज संकलन केन्द्र निर्माण
– धान वालीमा चार सय ५० मेट्रिक टन र गहँु वालीमा दुई सय ७५ मेट्रिक टन वाली धितोमा राखिदिएको

उपमहानगरपालिकाका अनुदान तथा सहुलियत कार्यक्रम

 

बुटवलमा हालसम्म ८० जना व्यवसायिक कृषक, आठ वटा व्यवसायिक उत्पादक समूह, पाँच वटा कृषि सहकारी उपमहानगरपालिकाको आनुदानिक तथा सहुलियत पूर्ण कार्यक्रमबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

 
 
  
 

You may also like