मासिक डेढ खर्ब व्यापार घाटा

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ ।

स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ ।

यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ । पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो । पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो । गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको हो ।

आठ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३८.६८ प्रतिशतले आयात बढेको छ । अघिल्ला महिनाहरूको तुलनामा आयात वृद्धिदरमा केही कमी आए पनि समग्रमा घाटा त्यति कम आएको थिएन । माघसम्म आयात ४२.७८ प्रतिशत थियो ।

पोहोर सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको थियो । चालु आवको फागुनसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ । यो पोहोरभन्दा ४२.१३ प्रतिशतले बढी हो । नागरिक दैनिकबाट

 
 
  
 

You may also like