पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सकिन्न : मन्त्री भुसाल

३ चैत्र २०७८, बिहीबार

परासी । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि घट्न नसकिने बताएकी छन् । पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन तथा २२०-१३२ केभी न्यू बुटवल सव स्टेशनको उद्घाटन गर्न बिहीबार त्यहाँ पुगेकी मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

अन्तर्राष्ट्रियरुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले त्यसलाई घटाउनु भनेर भनि राख्ने विषय नभएको बताएकी हुन् । ‘मूल्यवृद्धि नकारात्मक परिघटना हो । यसले भान्सादेखि यातायातलगायत सबै क्षेत्रमा महँगी बढाएको छ । यसबाट जुध्न सबै क्षेत्रले विद्युतलाई नै विकल्पकका रुपमा लिन जरुरी छ,’ उनले भनिन् ।

अहिले पनि पेट्रोल/डिजलमा ३२ र एलपी ग्यासमा ६ सय रुपैँया घाटा व्यहोर्नु परेको उनले सुनाइन् । ‘मूल्यवृद्धि घटाउनुस् भनेर भनि राख्ने विषय होइन । पेट्रोलियम पदार्थभन्दा विद्युत प्रयोगले ४० प्रतिशत भन्दाबढी मूल्य कम हुन्छ । त्यसैले महँगीको सुरक्षित उपाएको विकल्प नै विद्युत हो,’ उनले भनिन् ।

विद्युतका ग्रीड नपुगेका ठाउँमा २ वर्षभित्र पुग्ने गरी काम अघि बढिरहेको उनले जानकारी दिइन् । विद्युतलाई व्यापारका रुपमा अघि बढाउन नेपाल-भारत अन्तरदेशीय विद्युत प्रशारणको काम पनि अघि बढिरहेको उनले बताइन् । यहाँ निर्माण भएको सव स्टेशनले कुश्मा सव स्टेशन, भरतपुर सव स्टेशन, बुटवल सव स्टेशन र बर्दघाट सव स्टेशनलाई जोडेको छ ।

यो सवस्टेशन कूल एक अर्ब ८ करोड रुपैंयाँमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि एक अर्ब पाँच करोड रुपैंयाँमा काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । सवस्टेशनको निर्माण कार्यको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी श्री टाटा प्रोजेक्ट्स लि. इण्डिया कम्पनीलाई दिइएको थियो ।

एशियाली विकास बैंकको सहुलियपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सवस्टेशनको निर्माण कार्य सन २०१७ को नोभेम्बरबाट स्टेशनको काम शुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया