कपिलवस्तुमा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक प्रारम्भ

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २४औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार” भन्ने मूल आह्वानसहित कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको छ ।

विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले चार वटा मैनवत्ती प्रज्जवलित गरि राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै नागरिक अगुवा डा. पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै पाण्डेले वर्ष २०७७/७८ मा शान्ति समाजको उत्कृष्ट शाखाका रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक आतिथेय गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गरेका थिए ।

त्यस्तै, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गरे ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदूत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेधः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवाः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी फागुन २६ गते राति वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो ।

 

 
 
  
 

You may also like