शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एकै घरमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। स्थानीय काइँली स्याङ्तानको घरका आइतवार राति खाना खाएर सुतेकमध्ये चारजना सोमबार बिहान मृत भेटिएका हुन्।

घरमै बेहोस भेटिएका दुई दिनका नाबालकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।

 
 
  
 

You may also like